परासी/ मौसम पूर्वानुमानको बृहत्च चक्रवात अर्नबका कारण नवलपरासीमा हुनसक्ने भारी वर्षात का कारण हुन सक्ने बाढी, डुबान तथा पहिरोको जोखिम बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक दीपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न जिल्लाका सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले जिल्लाका बाढी, डुबान तथा पहिरोको जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी गर्ने, जोखिम बढेमा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सावधानी अपनाउने तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । उद्धार तथा राहत कार्यका लागि आवश्यक जनशक्ति, सवारीसाधन, उपकरण र सामग्री तयारी अवस्थामा राख्नसमेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ । सम्भावित विपद्का बेला अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा विशेषगरी लामो दूरी र रातको समयमा सवारीसाधन सञ्चालन नगर्न आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत मौसम, नदीको जलस्तर र सम्भावित विपद्सम्बन्धी सूचना संकलन तथा सम्प्रेषण गर्ने र सडक, पुल, विद्युत्, खानेपानी तथा सञ्चार सेवा अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउने गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन भनिएको छ ।
बैठकले विपद्का समयमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्य प्रभावकारी बनाउन सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह र सामाजिक संघसंस्थाबीच समन्वय तथा सहकार्य कायम राख्नुपर्ने समेत समीक्षा गरेको छ ।
यसैबीच, नारायणी नदीमा आएको बाढीबाट प्रभावित सुस्ता गाउँपालिका–५ को सुस्ता क्षेत्रमा राहत उपलब्ध गराउन पनि बैठकले निर्णय गरेको छ । बाढीबाट करिब २२० भन्दा बढी घरधुरी डुबानमा परी प्रभावित भएको विवरणका आधारमा पीडित परिवारलाई चामललगायत अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।
बाढीबाट विस्थापित सुस्ताको थारुटोलका बासिन्दाका लागि घर निर्माण, खाद्यान्न तथा गैरखाद्य राहत सामग्री उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
