सुनवल। पश्चिम नवलपरासीको सुनवलमा बहुउदेश्यीय कभर्डहल बन्ने भएको छ । सुनवल ३ किर्तिपुरमा कराते, तेक्वान्दो, भलिबल र टीटी लगायतका खेल खेल्न मिल्ने बहुउदेश्यीय कभर्डहल बन्ने भएको हो । कभर्डहलको आज बुधवार सुनवल नगर उपप्रमुख सुर्य दुवेले शिलान्यास गरेका छन् ।


सो अवसरमा बोल्दै उपप्रमुख दुवेले खेलकुदबाट समाजलाई स्वस्थ र अनुशासित बनाउनका लागि प्राथमिकता साथ अगाडि बढेको बताए । उनले आफू कुरा भन्दा काममा बिश्वास गर्ने भन्दै कभर्डहल नगरको गौरवको आयोजना भएकोले बजेट अभाव हुन नदिनका लागि आगामी नगर सभाबाट अपुग बजेट थप गर्नुका साथै प्रदेश र संघिय सरकारमा समेत पहल गर्ने बताए ।

कार्यक्रममा सुनवल वडा नं. ३ का वडा अध्यक्ष पविन गुरुङले वडालाई नमुना वडा बनाउदै लैजाने बताए । शिलन्यास कार्यक्रममा वडा नं ८ का अध्यक्ष देव बहादुर गुरुङ , कार्यपालिका सदस्य जुठि माया पुन, कार्यपालिका सदस्य बिनोद टमटा खाती, वडा सदस्य लक्ष्मी परियार, निर्वतमान वडा अध्यक्ष कर्ण बहादुर सेन लगायत जनप्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो।

हाल कभर्ड हल निर्माणका लागि नगरपालिकाले ६० लाख रुपैयाँ उपलब्ध गराएको छ । कुलप्रसाद भट्टराईको अध्यक्षतामा कर्भड हल रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरेर कभर्ड हल निर्माण सुरु गरिएको हो ।



