
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य वरावरको राजश्व संकलन गरेको छ । जसमा ४ करोड २ लाख १५ हजार १६० मुल्य अवैध रुपमा भन्सार छली ल्याएको मालसामानको मात्र रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिए । उहाका अनुसार ११ लाख ८६ हजार २५० मुल्य वरावरका अवैध नदिजन्य पदार्थ उत्खनन कारवाही र १५ लाख २९ हजार ३५५ मुल्य वरावरको अवैध वन पैदावार रहेको छ ।


यस्तै गत पुष १७ देखी यही माघ १८ गते सम्मको एक महिनाको अवधिमा मात्र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले कुल १ करोड ७३ लाख १८ हजार ७६७ मुल्य वरावरको राजश्व संकलन गरेको सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए । उहाका अनुसार सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ करोड ६८ लाख २८ हजार ७६७ मुल्य वरावरको भन्सार छली ल्याईएका चिनी, विभिन्न किराना सामान, हार्डवेयरको समान, लत्ता कपडा,ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया बरामद गरेको छ । वरामद सामान सहित ति सामान ओसारपसारमा संलग्न ५ जना मानिस, १२ मोटरसाईकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिएको पाण्डेयले बताए । उहाका अनुसार बरामद गरीएका ति सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको छ ।

यस्तै पछिल्लो एक महिनाको अवधिमा पश्चिम नवलपरासी प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न २२ ट्याक्टर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ति ट्याक्टरबाट ३ लाख ४२ हजार ५ सय मुल्य वरावरको राजश्व संकलन भएको र नियन्त्रणमा लिएका ति ट्याक्टर आवश्यक कारवारहीका लागि सम्वन्धित स्थानीय तहमा पठाइसकिएको सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए । यस्तै प्रहरीले सोही अवधिमा १ लाख ६२ हजार ५ सय मुल्य वरावरको अवैध काठ वरामद गरी डिभिजन वन कार्यालय बुझाएको छ ।


