मेरो बाले बेस्सरी झुक्याउनु भयो।
पढ बाबू
ठूलो मान्छे भइन्छ भनेर
सत्य बोल
अन्त्यमा जित हुन्छ भनेर
पर्ख
पालो आउँछ भनेर

पढ बाबू ठूलो मान्छे भइन्छ भनेर
खुरुक्क मानें ।
पढें ।
मास्टर बनें ।
चस्मा पनि लगाएँ ।
सस्तो सामन रोजें
आदर्शवान बन्न ।
थुप्रै निशुल्क सेवा गरेँ
धर्म कमाउन ।
यो जुनी खाते नै भए पनि
अर्को काल्पनिक जुनी खत्रै राम्रो बनाउन ।
आज
खानेपानीमा बिल तिर्न लाइनमा बस्छु ।
वन कार्यलयमा काठ किन्न ।
तर पनि पाउँदिन ।
विद्युत् कार्यलयमा पैसो तिरी
भनेको समयमा विद्युत् जडान हुँदैन ।
अस्पतालमा पालो कुर्छु ।
जचाउँन पाउँदिन ।
किनकि म पाए तीन
नपाए चार महिनामा
निस्तो तलब पाउने
अस्थायी मास्टर भएछु ।
तसर्थ
खुरुक्क तिर्न
नगद छैन
थर्काउने
तागत छैन
फोन गर्न
नेता छैन ।
संघमा छैन ।
संगठनमा जोडिएको हैन ।
मोर्चामा बाँधिएको छैन ।
फोरमको सदस्य होइन ।
मन्चमा बोलाइएको छैन ।
चिनजान छैन ।
सोर्सफोर्स लाग्दैन ।
टेर्दैनन् ,
मान्दैनन्,
गन्दैनन।
मेरो
कामै बन्दैन ।
मेरो आवाजै सुनिदैन
किनकि
म
व्याचसहित मन्चमा हुन्न ।
माइक समाउन्न ।
थुतुनो खेलाउन्न ।
सल्लाहकार,
सन्चालक,
कार्यसमिति
भातृसंगठन
भगिनी संस्था
कहीँ पनि पर्दिन
किनकि
म निस्तो मास्टर बनेँ ।
घर मेरो बास्तर
कुर्ची नभई बस्दैन मास्टर
भन्ने लोक गीत
पुरानो जमनाको मात्रै रहेछ
म बिना कुर्ची पनि बस्छु
किनकि
म हेड मास्टर होइन ।
म सहायक हेड सर होइन
संयोजक परिन
शिक्षक प्रतिनिधिमा छानिएन
चाकडी
चाप्लुसी
गर्नै सिकिएन
तसर्थ जानिएन ।
मेरो दलबल छैन
मेरो ज्याक चल्दैन
मेरो पावर छैन ।
मेरो सोर्स चल्दैन ।
त्यसैले
विद्यार्थीले टेर्दैनन्
अभिभावकले गन्दैनन्
समाजले पत्याँदैन
सत्कार चाहिएन
माया अनि सहानुभूतिसम्म पनि पाइएन
किनकि म सानो ‘त्यो’ मास्टर भएँ ।
बाले भनेको नटेरेको भए,
आमाले भनेको नमानेको भए,
बाजेले भनेको वेवास्ता गरेको भए,
बजैले भनेको नसुनेको भए,
सायद म आज
पढाइको पछि लागेर
स्कुलको धरालो भएरव
मास्टर होइन
नेताको पछि लागेर
दश वटा संस्थाको
सदस्य,
अध्यक्ष,
सल्लाहकार,
प्रशिक्षक,
समाजसेवी,
बुद्धिजीवी,
पत्रकार,
निर्देशक,
शिक्षाप्रेमी,
संरक्षक,
राजदुत,
या सांसद,
मन्त्री,
प्रधानमन्त्री,
राष्ट्रपति
या केही बन्थें !
तर मेरा बाले बबालै झुक्याउनु भयो ।
बाले जित्नु भयो।
म हरेँ ।
त्यसैले म मास्टर सास्टर भएँ ।
उधारो खान्छु ।
आश गर्छु ।
दलाली गर्न मिल्दैन ।
बदमासी गर्न मिल्दैन ।
कमाउन मिल्दैन ।
झुक्याउन मिल्दैन
त्यसैले त म सानो मास्टर भएँ ।
नपढेको भए
ठूलो नेता बन्थेँ
समाजसेवी हुन्थेँ ।
खत्रै हुन्थेँ
बबालै हुन्थेँ ।
हरिप हुन्थेँ ।
पुराण गुरुङ
सुनवल-३, नदुवा, नवलपरासी



