
पुजा लम्साल,सुनवल । चोकर ढुवानी गर्ने भनि चोकरको विल बनाई अवैध रुपमा मल ढुवानी गरिरहेको अवस्थामा नवलपरासी प्रहरीले ट्रक चालक सहित ५ लाख २६ हजार ८ सय मुल्य वरावरको मल नियन्त्रणमा लिएको छ । उक्त ट्रकमा रुपन्देहीबाट धादिङको धार्केमा ५२५ बोरा चोकर ढुवानी गर्ने भनि चोकरको विल बनाई जम्मा ३९ बोरा मात्र चोकर लोड गरी अन्य ४३९ वोरा मल ढुवानी गरिरहेको अवस्थामा बर्दघाट ४ टिसियन चोकमा चेकजाच गर्ने क्रममा प्रहरीले पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख ९२४३ नं.को ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा ५ लाख १२ हजार ४ सय मुल्य वरावरको ४२७ बोरा युरिया मल, १४ हजार ४ सय मुल्य वरावरको १२ वोरा डियपी मल वरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
सो क्रममा ट्रक चालक चितवन भरतपुर महानगरपालिका १६ बस्ने वर्ष २४ का सन्दिप न्यौपानेलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व कार्यलय बुटवल पठाइएको पाण्डेले बताउनुभयो ।



