
नवलपरासी । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ । जिल्ला खेलकूद विकास समिति पश्चिम नवलपरासीको आयोजनामा पाल्हीनन्दन २ हरपुरमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण पदक,१७ रजत पदक र २७ कास्य पदक गरी कुल ५८ पदक सहित सुनवल नगरपालिकाले प्रथम स्थान हासिल गरेको हो।


यस्तै प्रतापपुर गाउँपालिकाले १० स्वर्ण पदक,१७ रजत पदक र ३ कास्य पदक गरी कुल ३० पदक सहित दोस्रो स्थान र बर्दघाट नगरपालिकाले ७ स्वर्ण पदक,४ रजत पदक र ९ कास्य पदक गरी कुल २० पदक सहित तृतीय स्थान प्राप्त गरेको छ।

त्यस्तै प्रतियोगितामा सुस्ता गाउँपालिकाले ६ स्वर्ण पदक, ७ रजत पदक र ५ कास्य पदक गरी कुल १८ पदक सहित चौथो स्थान,सरावल गाउँपालिकाले ४ स्वर्ण पदक,५ रजत पदक र ५ कास्य पदक गरी कुल १४ पदक सहित पाँचौं स्थान, रामग्राम नगरपालिकाले २ स्वर्ण पदक,३ रजत पदक र ३ कास्य पदक गरी कुल ८ पदक सहित छठौ र पाल्हिनन्दन गाउँपालिकाले १ स्वर्ण पदक र ३ कास्य पदक गरी कुल ४ पदक सहित सातौं स्थान प्राप्त गरेको छ।
शनिवार देखि हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा संचालित रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका सात स्थानीय तहका खेलाडीहरुले १५२ पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजू प्रसाद गुप्ता (दीपक) ले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउँदै विजेता सम्पुर्ण खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रतापपुर गाउँपालिका भित्र हुने जानकारी दिनुभयो।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल,कबड्डी, दौड,हाई जम्प,लङ जम्प,कराँते लगायतका खेलहरु सञ्चालन भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू मगरले जानकारी दिनुभयो ।



