संस्कारी छौ ।
सबै पर्व मनाउछौ ।
श्रीमतीलाई धुरन्धर माया गर्छौ ।
ससुरालीकालाई भगावनकै दर्जा दिन्छौ ।
उहाँहरुलाई त श्रीमतीका जन्म अनि कर्मदाता मानी पुज्छौ ।
त्यसैले तिमी महान् हौ ।

आफ्नै भाषा सुनाउँछौ ।
आफ्ना संस्कार प्रचार गर्छौ ।
आफ्नो धर्मको बारेमा विश्लेषण गर्छौ ।
चिटिक्क पर्ने गरी साँस्कृतिक पहिरनमा सजिन्छौ ।
त्यसैले तिमी महान् हौ ।
अझै तिमी नारीवादी हौ ।
नारीलाई सम्मान गर्छौ ।
सासुलाई आमलाई भन्दा अथाह सम्मान गर्छौ ।
सालीलाई बहिनीलाई भन्दा धेरै माया गर्छौ ।
दिदीसासुलाई दिदीलाईभन्दा बेसी ख्याल गर्छौ ।
जेठानी दिदी त झनै साख्खै मन्छौ ।
त्यसैले तिमी महान् हौ ।
ससुरालाई “बा” मान्छौ !
जेठानलाई दाइको व्यावहारिक दर्जा दिन्छौ ।
सालोलाई जुम्ल्याहा भाइ झैं गर्छौ ।
भदाहलाई भतिजो र भदैनीलाई भतिजी जस्तै लिन्छौ ।
त्यसैले तिमी महान् हौ ।
घरतिर तिमीलाई टन्टै छैन ।
बाँदरे पुर्ख्यौली सम्पत्ति लिएकै छैनौ ।
बुढ्यौली बालाई नै “छोडिएका” छौ ।
आमाको जिम्मा बाकै हो ।
दाइको कमाई भाउज्युसंग टन्नै छ ।
भाइको सोझो कमाई बुहारीकै पोल्टामा छ ।
दिदीलाई बाले नै भिनाजुको जिम्मा लाइदिएकै छन्
बहिनीलाई पनि बाले नै ज्वाँइलाई सुम्पिदिएकै हुन् ।
भान्जा, भान्जी, भतिजो र भतिजी आफ्नैमा मस्त छन् ।
त्यसैले तिमी त बिन्दास हौ ।
तिमीलाई टन्टै छैन ।
थुप्रै कोठाहरु छन् ।
घरपतिरका खासै आउँदैनन् ।
ससुरालीकाले ख्याल गर्ने भएकाले बाक्लै आउँछन् ।
श्रीमतीले सम्हाल्छिन् ।
बैंक व्यालेन्स छ ।
घरपट्टी तिर्नै पर्दैन ।
बाआमाको वृद्धभत्ता छ ।
दाइभाइसंग खासै हाइ हेल्लो हुन्न ।
ऋण सापटीबाट मुक्त छ ।
दिदी बहिनी टाढा छन् ।
बोलाइन्न, बोलाए नि आउन्नन् ।
खर्च सुक्को हुन्न ।
खुवाउन पर्दैन ।
ससुराली गई खाए टीका दक्षिणा पर्दैन भनिंदैन ।
त्यसैले तिमी त बिन्दास हौ ।
तिमिलाई टन्टै छैन ।
आफ्नोमा अरुलाई निम्तो दिंदैनौ ।
भुइँमा बस्नै पर्दैन ।
अर्नी पानीको पीर मान्नै पर्दैन ।
ओढ्नी ओछ्याउनीको जोहो गर्नै पर्दैन ।
कतै कसैलाई कसैगरी निम्त्याउन परे,
नआउलान्, नमान्लान्, नखालन् भनी,
भाषा, भाका, भोक, भोजन नमिल्ला भनी,
छिमेकीलाई पनि छिसिक्क बोलाउँदैनौ ।
तसर्थ तिमीलाई केही पीरै छैन ।
त्यसैले तिमी त बिन्दास हौ ।
पुराण ल्हेगे गुरुङ ‘ चिउरी खर्के ‘
सुनवल ३, नदुवा, नवलपरासी ।



