
पुजा लम्साल,सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित ससम्मान विदाई गरेको छ ।


नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बिच सुनवल १२ की मनु भण्डारी, सुनवल ९ की मिना कुमारी दमै, सुनवल १३ की शारदा देवी कवर योगी र सुनवल ८ की विष्णुमाया तामाङलाई जनही रु दुई लाखका दरले प्रोत्साहन वापतको रकम प्रदान गरिएको सुनवल नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले आधारभूत स्वास्थ्य सेवा विस्तारमा स्वास्थ्य स्वयमसेविकाको अतुलनिय योगदान रहेकाले समृद्ध सुनवल निर्माणमा महत्वपुणर् भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

यस्तै उपप्रमुख सुर्य प्रसाद दुवेले स्वस्थ समाज निर्माण गर्न स्वास्थ्य स्वयमसेविकाले महत्वपुणर् भुमिका निर्वाह गरेको भन्दै आगामी दिनमा प्रोत्साहन रकम बृद्धि गरिने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक भगवती बस्यालले निरन्तर क्रियाशील रही नगरको स्वास्थ अवस्थालाई बिग्रन नदीई महत्वपूणर् भूमिका निभाएको भन्दै स्वास्थ्य स्वयम्सेविकाको भुमिका उल्लेख्निय रहेको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरु,कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सिनियर अहेव चुरामणि नेपालले गर्नूभएको थियो ।

सुनवल सुनवल नगरपालिकामा हाल २८ जना महिला स्वास्थ्य स्वायम्सेविका कार्यरत रहेका छन् ।






