बरु नआए बेश हुन्थ्यो
अर्नी मात्रै पनि नखाने भए,
घरमै पाकिसकेको एक गाँस खाने फुर्सदै नभएको भए
पसिना सुकन्जेल पनि बस्न नमिल्ने हतारो भएदेखि
सन्चो बिसन्चो सम्म सोध्न भन्ने नमिल्ने चटारो भएदेखि
बरु एकबिहानै नआए बेश हुन्थ्यो ।

सोधेको कुरा जवाफ पूरा नहुँदै फर्कने भए ,
मेरो-हाम्रो बारेमा सोध्ने समय नै नभए,
एकै क्षण बसिबियाँलो गर्न मनै नभए ,
नजर जुधाएर मन फुकाएर कुरै नगर्ने भए,
बरु एक बिहनै नआए बेश हुन्थ्यो ।
कोदो रोपेर, मकै छरेर, धान गोडेर मात्रै
न्वागी नखाँदै हतार हतार फर्किने भए,
हरियो काँक्रा, पिंडालु, बेरौंला, वन तरुल
अनि हरियो नुन खुर्सानी नचख्दै फर्किने भए
बरु एक बिहानै नआए बेश हुन्थ्यो ।
यसपाली त खोरियामा ब्याड राखी,
जिल्याएर, बीउ राखी, बीउ काढी,
खनी खोस्री, राम्रारी मलजल गरी,
रोपी, गोडी, फलाई, चढाई, भित्र्याई,
खान, चाख्न, पक्नै नपाई फर्किने भए,
बरु एकबिहानै नआए बेश हुन्थ्यो ।
सायद टाढै पुग्नु थियो होला
त्यसैले उतै मन, ध्यान, नजर, पाइला बढायौ ।
सयद उतै धेरै रमाइलो होला
त्यसैले त्यतै हतारिँदै लम्कियौ ।
यदि यहाँ कत्ति पनि रमाइलो नमान्ने भए
बरु एकबिहानै नआए बेश हुन्थ्यो ।
तिमी आफ्नो मात्रै खुशी रोज्ने स्वार्थी भएर होला
चिनजान गरी, मनमा माया पलाउने गरी
एक क्षण खेल्यौ, बोल्यौ, हाँस्यौ, सघायौ,
कति छिटो म-हामीसंग तिमी खुब अघायौ
तर म-हामी पुरै नरमाउँदै, नअघाउँदै फर्किने भए
बरु एकाबिहानै नआएको भए बेश हुन्थ्यो ।
तिमी सदा खुशी रहनू,
तिम्रै स्वार्थ पूरा गर्नू,
तिमीले सजिलै बिर्स्यौ,
म-हामीलाई बिर्सने बिष दिनू,
जहाँ रहे तापनि यहाँभन्दा धेरै आनन्दित हुनू,
क्षितिज पारिको देश बिरानो कहिल्यै नमान्नू,
तिमी स्वार्थी त पक्कै होइनौ,
प्राकृतिक हौ,
तिमी भावुक होइन,
यथार्थवादी हौ,
तर यति छिटै फर्किने भए
बरु एकबिहानै नआएको भए बेश हुन्थ्यो ।
पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
सुनवल-३, नदुवा, नवलपरासी पश्चिम
हिमाँशु भान्जप्रति समर्पित


