मलाई गौतम बुद्ध बन्न भन्छन्
काम गर तर फलको आश नराख भन्छन्
ममा गौतम बुद्धको केही अंश नै छैन
त्यसैले म मान्दिन तर बुद्ध बन्न भन्छन ।

मैले मलाई भुँइमान्छे हुँ भन्छु
पारिश्रमिक चाहने श्रमिक हुँ भन्छु
काम लाद्दिएर गरेर लटरम्म फलेपछि
मैले पनि खान पाउनु पर्छ भन्छु ।
मध्यरातदेखि ध्यान गर्दा आफैलाई मिहिनेती भन्छु
मिर्मिरेमै कुदी ध्यनको ज्ञान बाँड्दा मिहिनेती भन्छु
आफ्नो रक्तचाप उच्च बनाई स्वस्थ्यलाई तुच्छ ठान्दा
ओखतीमुलो गर्ने दाम खोज्ने आफैलाई मिहिनेती भन्छु ।
आभास छ दिनचर्या उत्कृष्ट बने आनन्द मिल्छ
लटरम्म फले सर्लक्कै बढे भने आनन्द मिल्छ
यतातिर यत्रो विधि उछालेर पौरखी भएपछि
आशा, भरोसा, विश्वास एक पेट ढुक्क मिल्छ ।
अनपढ अनि अवैज्ञानिक हली र किसानलाई थाहा छ
हल गोरु एक थपेर टन्न घसाए मस्त जोत्छ भन्ने थाहा छ
हलीले अर्नि खाँदा हरिया डाले घाँस पेटभरि खुवाएमा
साँझसम्म सजिलै सरसर्ती मेलो भ्याउँछ भन्ने थाहा छ ।
पल्लो गाउँको महाजनका परिवार मलाई बुद्ध बन भन्छ
मैले तपस्या गर्ने होइन भोकै भन्छु तर मलाई बुद्ध बन भन्छ
भोकाएर चिच्याउँदा, रुखो बोलिस् भनी उल्टै हप्काउँछन्
भात नपाएनी अर्नी मात्रै माग्दा कुर्लेर मलाई बुद्ध बन भन्छ ।
न त म राजाको छोरो न त घरबार सम्हाल्ने पैत्रिक राजस्व नै छ
न त मेरा भाइभारादार जसले घोक्र्याएर कुम्ल्याउने श्रोत नै छ
बाजेको वायु, बा आमाको आशा अनि पछिल्लाको भरोसा
म एक्लो, हली न त अधिया, भाडा, वा भत्ता पाउने मूल नै छ ।
त्यसैले सक्दिनँ म गौतम बुद्ध बन्न तैपनि गौतम बुद्ध बन भन्छन्
म श्रमिक मात्रै हुँ दामको लागि काम गर्छु, तर बुद्ध बान भन्छन्
आँखा चिम्लेर, कान थुनेर, नाक बुजाएर, मुख सैलाउन सक्दिन
पल्लो गाउँमा जोत्न मात्रै रहेछ, शून्य, गौतम बुद्ध बन भन्छन् ।
पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
सुनवल-३, नदुवा, नवलपरासी पश्चिम



