जसलाई पुज्यो उसैलाई डस्यो
जसले पुज्यो उही नै फस्यो
दूध खुवाएर भगवान मान्दा
उसैको साखा सन्तानै मास्यो

कठङ्गृएको जाडोमा न्यानो बनायो
थाङ्गनाले नै बेरेरै पनि न्यानो बनायो
यतिविघ्न मानवता देखाए तापनि
डसी आफ्नोपन देखाएर दङ्ग बनायो
नाग देवता जस्तै लागेको थियो
विशेष स्याहर र आहर दिएको थियो
देवताले रक्षा गरी कर्म गरुँला भनी
दुध, फुल, पाती, धुप बालेको थियो
जब न्यानो भयो हिँड्न थाल्यो
वरपर चारैतिर चाहार्न थाल्यो
भ्यागुतो, मुसो केही नदेखेपछि
भक्तलाई बेस्सरी डस्न थाल्यो ।
नागै हौ भने मणि होइन रक्षा गर
देवतै हौ भने अपाङ्गको रक्षा गर
विषालु सर्प मात्रै हौ भने पनि
थाङ्ग्नो, दूध, ओतको कदर गर ।
पुराण गुरुङ्ग ’चिउरी खर्के’
सुनवल-३, नदुवा, नवलपरासी पश्चिम


