
बर्दघाट, नवलपरासी (पश्चिम)
शिक्षकहरूको पेशागत विकास र गुणस्तरीय सिकाइ प्रवर्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा सन्चालित ७ वटा निजि तथा आवासिय बिध्यालयमा अध्यायपनरत शिक्षकहरुद्वारा TEAM को अवधारणा ल्याइएको छ। TEAMले आफ्नो अवधारणा अनुरुप भुमहिमा ९१ जना प्राथमिक तहका शिक्षकहरुलाइ तालिम प्रदान गरेको छ। एकदिने प्राथमिक शिक्षक तालिममा नवलपरासी पश्चिम टिम अन्तर्गतका ७ वटा प्रतिष्ठित विद्यालयहरू कुमुदिनी अङ्रेजी आबासिय मा वि , डेभिस स्कुल,ग्लोबल एकेडेमी, रामनगर एकेडेमी, उज्ज्वल शिशु स्कूल,
न्यु लाइफ स्कुल, ग्लोरियस एकेडेमीका शिक्षकहरूको सहभागिता रहेको थियो।
तालिमका मुख्य सहजकर्ता यज्ञराज अवस्थी र गोमा दाहाल रहनुभएको थियो। प्रशिक्षणमा सहभागी शिक्षकहरूले शिक्षण रणनीति (Teaching Strategy), थीम आधारित शिक्षण (Theme-Based Teaching), कक्षा व्यवस्थापन (Classroom Management) तथा कक्षा १, २ र ३ मा लागू एकीकृत पाठ्यक्रम (Integrated Curriculum) सम्बन्धी ज्ञान र सीप प्राप्त गरेका थिए।
तालिमका विभिन्न सत्रहरूमा सहभागीहरूलाई प्रयोगात्मक अभ्यास गराउँदै बालमैत्री सिकाइ वातावरण निर्माणका अवधारणा बारेमा प्रशिक्षण गराइएको थियो। विशेष गरी नयाँ पाठ्यक्रम अनुसार कसरी थीमको आधारमा पाठ्ययोजना बनाउने भन्ने विषयमा शिक्षकहरूलाई समूहगत अभ्यास गराइएको थियो। सहजकर्ताद्वय दाहाल र अवस्थीले सहभागीहरूलाई शैक्षिक परिवर्तनका लागि शिक्षकमैत्री र विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको प्रयोग गर्न प्रेरित गर्नुभएको थियो। उहाँहरूले एकीकृत पाठ्यक्रमका विशेषता, यसको संरचना, कक्षा कोठामा कसरी व्यवहारमा ल्याउने भन्नेबारेमा विस्तृत प्राविधिक जानकारी प्रदान गर्नुभएको थियो।
तालिममा सहभागी शिक्षकहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। सहभागिले तालिमले शिक्षणमा व्यवहारिक दृष्टिकोण विकास गरेको र सिकेका विधिहरू कक्षा कोठामा प्रयोग सहज सरल भएका कारणपनी तालिम अत्यन्त उपयोगी रहेको बताए।
कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी प्याबसन पुर्व सचिव तथा डेभिस स्कूलका प्रीन्सिपल सुवर्ण न्यौपानेले तालिमले सहभागी शिक्षकहरूमा सकारात्मक सोच, नयाँ शिक्षण शैलीको प्रयोग गर्ने आत्मविश्वास र एकीकृत पाठ्यक्रमप्रति स्पष्ट अवधारणा विकास गर्न सफल हुने बताउदै अबको आवस्यक्ता “युग सुहाउदो गुणस्तरिय शिक्षा” रहेको हुँदा मुल मन्त्रलाइ आत्मसात गरेर शिक्षण पद्दती परिवर्तन गरि अभिभावकको मन जितेर असल नागरिक निर्माणमा लाग्न सबैलाइ आग्रह गर्नुभयो।
कार्यक्रमको अध्यक्षता मणि शर्माले गर्नुभएको थियो। अतिथिहरु रेश्मिराज बश्याल, कल्पना न्यौपाने, दिपक कुंवर थिए भने कार्यक्रम सञ्चालन जनक अधिकारीले गर्नुभएको थियो।




