परासी/ पूर्बी नवलपरासी-नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको आइतबार शिलन्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आईतबार बिहान भवन निर्माण स्थलमा विधिवत रुपमा भवनको शलन्यास गर्नु भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ मा निर्माण हुने भवन २०८४ असार १४ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
भवन निर्माण कार्यका लागि बञ्जारा एण्ड कम्पनी प्रा.लि., काठमाण्डौं र गाउँपालिकाको कार्यालयबीच २०८२ पौष १९ गते दश करोड ५८ लाख २८ हजार उनान्असी रुपैयाँ ७६ पैसा कुल लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । कुल १४ करोड ६७ लाख ४० हजार पाँच सय १९ रुपैयाँ आठ पैसामा भवन निर्माणको ठेक्का आह्वान भएकोमा बञ्जारा एण्ड कम्पनी प्रा.लि., काठमाण्डौंले दश करोड ५८ लाख २८ हजार उनान्असी रुपैयाँ ७६ पैसामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का आफ्नो पक्षमा पारेको थियो ।
भवन निर्माण स्थलको रुख कटान र माटो हटाउने कार्य सकिए पस्चात अब भवन निर्माणको कार्य अगाडी बढेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । भवन निर्माणको लागि उपयुक्त जग्गा उपलब्ध नहुदाँ लामो समय सम्म निर्माण कार्य अगाडी बढेको थिएन । २०८१ श्रावण १४ गते नेपाल सरकारको मन्त्रीपरिषद् निर्णयबाट विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि ६ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भए बमोजिम भवन निर्माणको अन्य प्रक्रिया अगाडी बढेको थियो ।
भवन निर्माण भएपस्चात हालको भवनबाट सेवा प्रवाहमा भईरहेको असहजता हट्ने गाउँपालिका अध्यक्ष गिरीले विश्वास व्यक्त गर्नुभयो । निर्धारित समयमा नै भवन निर्माण सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट ठेक्केदार पक्षलाई आवश्यक सहजिकरण सहित नियमित रुपमा नियमन हुने अध्यक्ष गिरीले बताउनुभयो ।
भवन शिलन्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती बैदवार, प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित सहित विभिन्न वडाका वडाअध्यक्षहरु, गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । भवन शिलन्यास पूर्व बटुकहरुद्वारा स्वस्तिक बचान सहित आवश्यक धार्मिक विधि पुरा गरिएको थियो ।



