काठमाडौँ, पाकिस्तानले नेपालका बाढी तथा पहिरोपीडित नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले १०० टन राहत सामग्री हस्तान्तरण गरेको छ।

त्रिपाल, कम्बल, गुन्द्री/म्याट, हाइजिन किट तथा औषधिहरू समावेश गरिएको उक्त राहत सामग्री काठमाडौँ आइपुगेको छ।
पाकिस्तानका महामहिम राजदूत आमिर खानले माननीय मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्दै नेपाल र नेपाली जनताप्रति पाकिस्तानको निरन्तर सहयोग र ऐक्यबद्धता पुनः दोहोर्याउनुभयो।
हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत आमिर खानले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताको साथमा पाकिस्तान दृढताका साथ उभिएको बताउनुभयो।
पाकिस्तानले शोकसन्तप्त परिवारजन र बाढी-पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाललाई आवश्यक परेको खण्डमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।




