नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयुक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा प्रस्तावित सामुदायिक वनका पदाधिकारीको सहभागीतामा संयुक्त सिकाई आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
सुस्ता गाउँपालिका वडा नम्बर १ का बनदेवी सामुदायिक वन, जनकल्याण सामुदायिक वन, कालिका सामुदायिक वन उपभोक्ता समूह र राजाराम प्रस्तावित सामुदायिक वनका पदाधिकारीहरुको सहभागीता रहेको थियो । त्यस्तै सुस्ता गाउँपालिका वडा नम्बर २ मा पर्ने कमारवर्ति सामुदायिक वन र मदरबाबा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयका रेन्जर चिन बहादुर यादवले उपभोक्ता समूहले प्रभावकारी ढंगले वन संरक्षणमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वनजंगल संरक्षण, आगलागी नियन्त्रण, वन ऐन नियम, कार्यविधि, घाटगद्दि, उपभोक्ताहरुलाई सुकेका दाउरा ल्याउन वन खोल्ने सम्बन्धमा, साधारणसभा लगायतका विषयमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले आफ्नो अनुभव साटासाट गरेका थिए
सामुदायिक वन उपभोक्ता समूहबीच सिकाई आदान प्रदान

