८ कार्तिक २०८३, शनिबार

सट्टेबाजीको आरोपमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानबाट बैक खाता तथा वेनेन्स आइडी प्रयोग गरी हालसम्म रु दुई करोड ४१ हजार छ सय ३६ बराबरको कारोबार गरेको खुल्न आएको तथा निजहरूको शरीर तथा कोठा खानतलासी गर्दा विभिन्न मोडेलका मोबाइल सेट चार थान, कम्प्युटर एक थान, एनसेलका सिमकार्ड ५० थान, एनटिसीका सिमकार्ड नौ थान, विभिन्न व्यक्तिहरुको नाममा रहेका एटिएम कार्ड २७ थान, डायरी पाँच थान, चेकबुक सात थान तथा नगद रु ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार