काठमाडौं — धर्ममा निहित सकारात्मक मूल्यहरूले अभिभावकलाई सही अभिभावकत्व ग्रहण गर्न मार्गदर्शन गर्ने धर्मगुरुहरूले बताएका छन्। बालबालिकाको मानसिक स्वास्थ्य र सकारात्मक अभिभावकत्व विषयमा निरन नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न धर्मका धर्मगुरुहरूले बालबालिकाको भावनात्मक विकास, मानसिक स्वास्थ्य सुदृढीकरण, सहनशीलता वृद्धि, उत्प्रेरणा र खुसीपूर्ण वातावरण निर्माणमा धार्मिक अगुवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रममा निरन नेपालका अध्यक्ष इसु जंग कार्कीले अभिभावकले बालबालिकामा आशाको सञ्चार गर्नुपर्ने र उत्प्रेरणामार्फत सही दिशातर्फ अघि बढाउनुपर्ने बताए। साइक्याट्रिक्स विशेषज्ञ तथा अनुसन्धानकर्ता डा. जस्मिन माले अभिभावकले आफैं राम्रो आचरण र असल बानी अपनाएर बालबालिकालाई उदाहरणमार्फत सिकाउनुपर्नेमा जोड दिइन्।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ प्रशासन प्रमुख शिला श्रेष्ठले बालबालिकाका लागि ‘मनको कुरा खोलौं’ अभियान सञ्चालन भइरहेको जानकारी दिइन्। मानसिक स्वास्थ्य प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सीआईएनका प्रमुख दीपक आचार्यले जिम्मेवार र संवेदनशील रिपोर्टिङ आवश्यक रहेको बताए।
कार्यक्रममा अन्तर्धार्मिक परिषद्का अध्यक्ष दामोदर गौतम, मानव अधिकारकर्मी शोभाकर बुढाथोकी, वरिष्ठ पत्रकार तीर्थ कोइराला, राष्ट्रिय किशोरी सञ्जालका प्रतिनिधिहरू, मुस्लिम आयोगका अध्यक्ष मोहम्मद मुद्धनी, राष्ट्रिय महिला आयोगकी उपसचिव सीता अधिकारी, राष्ट्रिय बाल परिषद्का उपाध्यक्ष बम बानियाँलगायतको उपस्थिति रहेको थियो।


