८ अशोज २०८३, बिहिबार

त्रिवेणी स्थित नारायणी नदी डुंगाबाट तस्करी, सीमापार भारतमा करीब ८ टन सामान बरामद !

नवलपरासी, असोज ९
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने त्रिवेणी क्षेत्र -नारायणी नदीमा डुंगा प्रयोग गरी नेपालबाट मिलेमतोमा भारततर्फ व्यापक तस्करी हुने गरेको खुलेको छ ।

सीमा पार भारतीय प्रहरीले ठूलो परिमाणमां चिनियाँ कद्दू (पम्पकिन) का बीउ, चिनियाँ लसुन तथा गुड लगायतका सामान बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा भारतको बिहार राज्यस्थित वाल्मीकिनगर प्रहरी टोलीले पिपरा कृषि क्षेत्रको वर्मा कॉलोनीमा रहेको एक गोदाममा छापा मार्दा उक्त सामग्री फेला परेको हो। छापामार कारबाहीका क्रममा प्रहरीले एक छ चक्के डीसीएम ट्रक समेत नियन्त्रणमा लिएको जनाएको छ।

भारतीय प्रहरीका अनुसार बरामद गरिएको सामग्रीको कुल तौल ७ हजार ८१२ किलोग्राम रहेको छ। जसमा १ हजार १२० किलोग्राम चिनियाँ पम्पकिन बीउ, १ हजार ७४० किलोग्राम चिनियाँ लसुन तथा ४ हजार ९५२ किलोग्राम गुड रहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त सामग्री नदीमार्ग प्रयोग गरी नेपालबाट भारततर्फ पुर्‍याइएको हुन सक्ने आशंका गरिएको भारतीय प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित सात जना चिनिएका तथा १० जना अपरिचित व्यक्तिविरुद्ध प्राथमिक सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरिएको छ।

नामजद अभियुक्तहरूमा सुनील जयसवाल, अनिल यादव, अनुप यादव, सन्दीप यादव, मनोज यादव तथा मनोज गोरख सेनियार लगायत रहेका छन्। भारतीय प्रहरी स्रोतका अनुसार सुनील जयसवाल भारततर्फका मुख्य योजनाकार रहेको आशंका गरिएको छ भने नेपालतर्फ बाट पनि केही व्यक्तिहरुको नाम अनुसन्धानको दायरामा रहेको बताइएको छ।

यति ठूलो परिमाणमा सामग्री भारततर्फ बरामद भएपछि सीमावर्ती क्षेत्रमा खटिएका नेपाली सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। स्थानीयवासीहरूले तस्करी गतिविधिमा केही सुरक्षा अधिकारीहरूको मिलेमतो रहेको आरोप लगाएका छन्। उनीहरूले दैनिक ठूलो रकमको कमिसन लिएर करोडौं रुपैयाँ बराबरका सामान ओसारपसार गर्न सहयोग गरिएको दाबी गरेका छन्।

स्थानीय स्रोतहरूले सशस्त्र प्रहरी बलको सुस्ता क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृतको नाम समेत जोडेर आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भइसकेको छैन। आरोपहरूको स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान आवश्यक रहेको स्थानीयहरूको माग छ।

भारतीय प्रहरीले बरामद सामग्री तथा नियन्त्रणमा लिइएको सवारीसाधन आवश्यक कानुनी प्रक्रिया पूरा गरी बेतिया सीमा शुल्क कार्यालयलाई बुझाइएको जनाएको छ। साथै, गोदाम मालिकको सहयोगमा सामानको स्रोत, संलग्न व्यक्ति तथा अन्तिम गन्तव्यबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

सीमावर्ती क्षेत्रमा नदीमार्ग प्रयोग गरी हुने अवैध सामान ओसारपसार र भण्डारणका गतिविधि पछिल्लो समय बढ्दै गएको भन्दै सुरक्षा निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार