काठमाडौं, डिजिटल प्रविधिको तीव्र विकासले समाजमा विश्वास, सामाजिक सम्बन्ध तथा सामाजिक पुँजीमा असर पार्न सक्ने विज्ञ तथा प्राज्ञहरूले बताएका छन् ।
काठमाडौंको मैतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन (ICSXC-2026) को पूर्ण सत्रमा मुख्य वक्ताका रूपमा बोल्दै वेब कन्सोर्टियम एसिया प्यासिफिकका प्रा. जय किशिगामीले डिजिटल रूपान्तरण अर्थात् डीएक्स (DX) को युगले सामाजिक विश्वास र सामाजिक पुँजी कमजोर पार्न सक्ने चेतावनी दिएका हुन् ।
‘Does Digital Society Make Us Happy?’ विषयमा मुख्य मन्तव्य दिँदै प्रा. किशिगामीले डिजिटल रूपान्तरणको प्रभाव समाजमा देखिन थालिसकेको बताए । उनले डिजिटल प्रविधिको विकासलाई केवल प्राविधिक परिवर्तनका रूपमा मात्र नभई यसको सामाजिक तथा सांस्कृतिक प्रभावका दृष्टिले समेत हेर्नुपर्नेमा जोड दिए । उनका अनुसार डिजिटल युगमा हुने सांस्कृतिक परिवर्तन महत्वपूर्ण विषय बनेको छ ।
सम्मेलनकी अर्की मुख्य वक्ता युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाकी प्रा. गुलमोरा हन्डलीले मानसिक स्वास्थ्यलाई संस्थागत जिम्मेवारीका रूपमा लिनुपर्ने बताइन् । मानसिक स्वास्थ्यलाई संस्कृति र सामाजिक परिवेशबाट अलग गरेर हेर्न नसकिने उनको भनाइ थियो ।
“अनलाइनमा सयौँ स्रोतमा पहुँच भए पनि युवाहरू गहिरो एक्लोपनको अनुभव गरिरहेका छन्,” हन्डलीले भनिन्, “लचकता (Resilience) एक्लोपनमा विकास हुँदैन ।”
‘Reimagining the Global Future with Youth at the Crossroads of Change’ विषयवस्तुमा आयोजना गरिएको तेस्रो ICSXC-2026 ले डिजिटल युगको भविष्य निर्माणमा युवा तथा प्रारम्भिक चरणका अनुसन्धानकर्ता र विद्वानहरूको भूमिकाबारे छलफल गरेको थियो ।
सम्मेलनमा फिलिपिन्स, जापान, भारत, स्पेन, स्लोभाकिया, बेलायत, नेपाललगायत विभिन्न देशका ३०० भन्दा बढी अनुसन्धान विद्यार्थी, विद्वान तथा प्राज्ञहरू सहभागी भएका थिए ।
हरेक दुई वर्षमा आयोजना हुँदै आएको सम्मेलनको समापनका क्रममा चौथो ICSXC-2028 को घोषणा गरिएको छ । आगामी सम्मेलन १४–१५ सेप्टेम्बर २०२८ मा आयोजना हुने बताइएको छ ।
ICSXC-2026 रित्सुमेइकान युनिभर्सिटी, जापान; युनिभर्सितात पोलिटेक्निका डे भालेन्सिया, स्पेन; वेब कन्सोर्टियम एसिया प्यासिफिक; तथा वुमेन्स क्रिस्चियन कलेज, भारतको सहआयोजनामा सम्पन्न भएको हो ।
सम्मेलनले डिजिटल रूपान्तरण, युवा, संस्कृति, मानसिक स्वास्थ्य तथा बदलिँदो विश्व परिवेशका विषयमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक छलफलका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।

