१० अशोज २०८३, शनिबार

नेपाल–अस्ट्रेलिया शैक्षिक सम्बन्ध र विद्यार्थी भिसाबारे काठमाडौंमा छलफल

काठमाडौं, नेपालमा अस्ट्रेलियाली शिक्षाको अवस्था, विद्यार्थी भिसा, शैक्षिक परामर्शदाताको नियमन तथा सरोकारवालाबीचको विश्वासका विषयमा केन्द्रित ८औँ इम्प्याक्ट फोरम–अस्ट्रेलियन एजुकेसन काठमाडौंमा सम्पन्न भएको छ।

अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स इन नेपाल (एएइआरआई नेपाल) को आयोजनामा द एभरेस्ट होटल, काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका विश्वविद्यालय, शैक्षिक संस्था, सरकारी निकाय, शिक्षा परामर्श क्षेत्र तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एएइआरआई नेपालका अध्यक्ष द्विराज शर्माले स्वागत मन्तव्य राखेका थिए। त्यसपछि नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान तथा एएइआरआई नेपालको परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘अस्ट्रेलियाली विद्यार्थी भिसाको नयाँ व्यवस्था, नेपालको शैक्षिक परामर्शदाता नियमन र सरोकारवालाबीचको विश्वास’ विषयमा प्यानल छलफल गरिएको थियो। महेशबाबु तिमल्सिनाले सहजीकरण गरेको छलफलमा एक्सेल्सिया युनिभर्सिटी कलेजकी भर्ना निर्देशक अर्चना शर्मा, चार्ल्स डार्विन विश्वविद्यालयका दक्षिण एसिया तथा मध्यपूर्व र अफ्रिका क्षेत्रका सहउपकुलपति गिरिश अय्यर तथा युनिभर्सिटी अफ सदर्न क्विन्सल्यान्डका बंगलादेश तथा नेपाल हेर्ने देशीय व्यवस्थापक एमडी इमरुल हुसेन सहभागी थिए।

छलफलमा अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रियामा भएका परिवर्तन, नेपालमा शैक्षिक परामर्श क्षेत्रको नियमन, विद्यार्थीको हित संरक्षण तथा शैक्षिक संस्था, परामर्शदाता र अन्य सरोकारवालाबीच पारदर्शिता र विश्वास कायम गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा स्नेहा घिमिरेले अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा प्रवासी नेपालीसँग सम्बन्धित विषयमा प्रस्तुति दिएकी थिइन्। अन्तर्राष्ट्रिय शिक्षा संघ अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकारी फिल हनीउडको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो।

त्यसैगरी अस्ट्रेलियाली व्यापार तथा लगानी आयोगका विक सिंह र शिक्षा विभागका जर्ज थिभोसको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। गृह मामिला विभागका दक्षिण एसिया क्षेत्रीय निर्देशक मुकेश धमलाले ‘नेपालको विद्यार्थी आवागमनमा नयाँ परिवर्तन : संख्याबाट विश्वासतर्फ’ विषयमा मन्तव्य राखेका थिए।

कार्यक्रममा जय श्रेष्ठले अस्ट्रेलिया–नेपाल शिक्षा क्षेत्रको आगामी विकासको सम्भावनाबारे विशेष मन्तव्य दिएका थिए। गृह मामिला विभागका दक्षिण एसिया क्षेत्रीय निर्देशक स्टिभन बिडलको भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो।

एएनएएका अध्यक्ष सुदर्शन न्यौपानेले एएइआरआई नेपाल र एएनएएबीच भएको समझदारीपत्रका विषयमा मन्तव्य राखेका थिए। कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नेस्टले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए।

कार्यक्रममा भारतका देशीय व्यवस्थापक दीपक भारद्वाजले समेत मन्तव्य राखेका थिए। एएइआरआई नेपालका उपाध्यक्ष बुद्धि सागर अर्यालले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम समापन भएको थियो।

कार्यक्रमको अन्त्यमा सामूहिक तस्बिर खिचिएपछि रात्रिभोज आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न बैंक, स्वास्थ्य संस्था तथा अन्तर्राष्ट्रिय शिक्षा सेवा प्रदायक संस्थाहरूले सहयोग गरेका थिए।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार