
पुजा लम्साल,सुनवल । देशका ७५३ स्थानीय तह मै राष्ट्रिय महिला आयोगले काम गर्न सक्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगले आज सुनवलमा गरेको समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा, बालविवाह, बहु विवाह, दाइजो प्रथा, बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी लुम्विनी प्रदेश केन्द्रित अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले केही पालिकामा मात्र कार्यक्रम गरेर नहुने भन्दै सवै स्थानीय तहमा आयोग पुग्नु पर्ने सुझाव राखेका हुन् । अन्तर आयोग समन्वय मार्फत काम जिम्मेवारी पुरा गर्नुपर्ने उनिहरुको भनाई थियो ।


कानुनी राज्य भए पनि हिंसा पीडित महिलाको उजुरी दर्ता नहुनु विडम्बना भएको भन्दै कानुन निर्माण भन्दा पनि कार्यान्वयन गर्नु जटिल विषय भएकाले सामाजिक रुपान्तरणका लागि मानसिक परिवर्तन आवश्यक रहेको बताएका बताएका छन् ।
आर्थिक सशक्तिकरण तथा स्वनिर्भरका कार्यक्रमले मात्र अधिकांस महिला हिंसामा कमी आउने भन्दै विशेष परिस्थितिमा रहेका बालबालिका र महिलाको विषयमा पनि विभिन्न कार्यक्रम ल्याउनुपर्ने वक्ताहरुले माग गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका प्रमुख विमला अर्यालले हाम्रा संस्कार संस्कृति नै अवैधानिक रहेकाले ती नराम्रा कुरालाई छोड्दै जानु पर्ने बताउदै समाज रुपान्तरणका लागि सचेतना अभियानको आवश्यकता रहेकाले सबैले आफ्नो तर्फबाट पहल गर्न सके न्युनिकरण गर्न सकिने बताउनु भयो। उहाले रास्ट्रपति उपराष्ट्रपति निर्वाचनमा महिला समावेशीकरण नआएकोमा आयोगको ध्यानाकर्षण गराउनुभयो ।

महिला नेतृत्व रहेको पालिकामा सहजीकरण नगरी असफल बनाउन लाग्ने सयंन्त्र प्रति इंगित गर्दै नगर प्रमख अर्यालले अवसर दिए पनि काम गर्न हस्तक्षेप गरिएको भन्दै निणर्ायक तहमा महिलाको सहभागिता नहुनुमा महिला मैत्री समाज निर्माणमा कानुनी अड्चन रहेको बताउनु भयो।

नगरका १३ वटै वडामा रहेका महिला उद्यम केन्द्रबाट उत्पादीत वस्तुको बजारीकरणका लागि बहुदेस्यिय भवन र हिंसा पीडित महिलाहरूका लागि महिला सेफ भवन बन्दै गरेको बताउदै नगर प्रमुख अर्यालले महिलालाई आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा माननीय सदस्य विधा कुमारी सिंहले आयोगको निशुल्क हेल्पलाईन नं ११४५ ले दुरदराजमा रहेका पिडित महिलाहरुको उजुरी दर्ता गर्न एउटा माध्यम रहेको भन्दै पीडित महिलालाई न्याय दिने काममा आयोग लागेको बताउनु भयो । कार्यक्रममा उठेका सुझावलाई सरकार समक्ष पुराउने र थप विकासका लागि सरकारलाई झकझकाउने उहाको भनाई छ ।

लैगिङ्क समानता, महिला सशक्तिकरण र मूलप्रवाहीकरणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले बताउनु भयो । कार्यक्रममा नेपाली समाजमा विद्यमान हानिकारक अभ्यासको वर्तमान अवस्था र न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायहरूका बारेमा राष्ट्रिय महिला आयोगका उपसचिव अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो।

कार्यक्रममा सुनवल वडा नं १ का वडाध्यक्ष मान बहादुर थापा, वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद शर्मा तिवारी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, सामाजिक विकास समिति संयोजक भगवती बस्याल, कानुनी सल्लाहकार तथा अधिवक्ता मित्रलाल लामिछाने , विभिन्न संघसंस्था तथा समितिमा आवद्ध महिलाहरु दुर्गा पाण्डे , कमला गौतम, सुमित्रा भट्टराई, दिलकुमारी बुढा मगर लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।










