
सुनवल । लामो दुरीको यात्रा गरी आउने यात्रुहरुमा पर्न गएको आपतकालिन समस्यालाई मध्यनजर गरी यात्रुहरुको सहजताका लागि पश्चिम् नवलपरासीको सुनवल १२ भुमही चोकमा फ्रि वाईफाई सेवा सुचारु भएको छ । लियो क्लब अफ रामनगरको आयोजना र स्मार्ट लिन्क नेटवर्क प्राइभेट लिमिटेडको सहजिकरणमा फ्रि वाईफाई सेवा सुरु गरिएको हो । फ्रि वाईफाई सेवाको आज शनिवार एक कार्यक्रमका विच उद्घाटन पनि गरिएको छ ।


क्लबका अध्यक्ष लियो रुपेश गौतमको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ रामनगरका अध्यक्ष लायन्स बलराम चापागाईं, विशिष्ट अतिथि रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसाल, लायन्स पुर्व अध्यक्ष भवानी ढकाल, घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेय, कृष्ण पान्डेय, यमन भण्डारी लगायतले लियो क्लव र स्मार्ट लिन्क नेटवर्क प्रालिको सहकार्यमा फ्रि वाईफाई सेवा सञ्चालन गरी नविन काम गरेको बताउदै यसलाई निरन्तरता दिन र नगरका अन्य स्थानमा पनि यस किसिमको सेवा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

फ्रि वाईफाई सेवा विशेष गरी लामो दुरीका यात्रुहरुमा पर्ने रिचार्ज, मोवाईट डेटा लगायत विविध समस्यालाई केही सहज बनाउन फ्रि वाईफाईको सेवा सुबिधा मार्फत सेवा लिन सक्ने लियो क्लब अफ रामनगरका सचिव एस के प्रजापतीले बताउनुभयो।

उहाका अनुसार रातिको समयमा पसलहरु पनि बन्द हुने भएको अवस्थामा स्थानीयले पनि यसको सहि सदुपयोग गर्न सक्नेछन तर फ्रि वाईफाई सुविधामा अनलाईन गेम र टिकटक नचल्ने गरी व्यवस्था गरिएको छ। यसबाट ट्राफिक जाम नहुने गरी यसलाई व्यवस्थापन गरिएको सचिव प्रजापतीले बताउनुभयो ।




