कृतिम अनाथ
बच्चा जखामी भयो
बच्चालाई जखामी बनायो
निरीह भयो
असाहय भयो
रोयो
करायो
चिच्यायो
अहँ कसैले सुनेन ।

अब त भोक पनि लागेछ क्यारे
केही खानेकुराको आश गरे जस्तो लाग्थ्यो
आमाको बुबु चुस्ने उमेरमा
मकैको ठेला पनि नपाउने बखतमा
निन्याउरो अनुहार
ओसिला आँखा
सुकेका ओंठ
नजर मात्रै डुलाउन सक्ने भएको बेलामा
सबैले नजर तरेको देख्दा
मानवता हराएको भान हुन्थ्यो ।
देवता राक्षसको खोजीमा हिंडे जस्तो लाग्थ्यो ।
बर्षाको बेला
खनियो पाएछ !
बेल्ला भेटिएछ ।
दुदिला, काफल, खल्टुक, अएँरी, चुत्रो,
ऐसेलु, चिउरी, जमुना, कटुसको थुप्रो
यसरी प्रशस्त खानेकुरा दिने आमा भेटेछ ।
यसरी पोषाउने बाबा मिलेछ ।
अब हुर्किन, फुर्किन, दगुर्न, स्वीकार्न सिकेछ ।
मौसम, भूगोल, वातावरण चिन्न थालेछ ।
एकदमै प्राकृतिक भएछ ।
निक्कै शिपालु बनेछ ।
मौसमी प्राकृतिक फलफूल फल्ने
क्षेत्र, क्षण, छनक छ्याक्कै चिन्ने
प्रकृतिको प्रिय पात्र परेछ ।
आमा, आफन्त, आवेग, आशा प्रकृति बनेछ ।
आफ्नै आडमा ओखती खुट्टयाउने खाले खरो निस्केछ ।
अरुको आशामा अल्मलिने अल्झिने बनेनछ ।
आफ्नै औकातमा आगनमा बाँच्ने बनेछ ।
चाकरी, चाप्लुसी, चटक्कै चिन्दो रहेनछ ।
अनौठो अवतरी अन्वेषक पो निस्किएछ ।
निष्कर्ष फरक फरक निकाल्दा रहेछन् !
अल्ढेङ्रो, अफ्ट्यारो, अर्घेलो, असभ्य, अटेरी, अबुझ,
जंगली, जनावर, जाबो, जिब्रे भएछ ।
विज्ञान, संसार, कानून, प्रविधि, प्रक्रियाको बारे
अन्धो, अज्ञानी, घोसे, बाङ्गे, शुन्य रहेछ ।
तर के थाहा यी एकपक्षीय समालोचकहरुलाई
ऊ कसरी, कहाँ, कहिले, किन छोडिएको थियो ?
यी पाखण्डीहरुलाई के याद होला र ?
कसरी, के कारणले, कसको सहायताले ?
कहाँको, के , कहिले खाएर बाँच्यो र हुर्केको भनेर?
यी ग्वाँजेहरुलाई के बोध होला र?
उसलाई प्रकृतिको बारेमा कति ज्ञान छ भनेर ?
यी अर्धहरुलाई के ज्ञान होला र ?
प्रकृतिसंग उसको नाता के कति हो भनेर?
वास्तवमा के कृतिम मानवहरुलाई थाहा छ ?
प्रकृति अभिभावक हो भन्ने
गास, बास, कपास, बुद्धि, विवेकको श्रोत हो भन्ने
ऊ उकालो, ओरालो, भीर, वन, पाखा आउने जाने गर्दा,
पहाड, रुख, कान्ला चढ्ने झर्ने गर्दा,
खहरे खोला, नाला वारपार गरी तर्दा,
कति सिकेको छ ?
के के जानेको छ ?
किन, कहिले, कति, कसरी, कहाँ आदिको उत्तर
कति धेरै मुखाखर छ ?
त्यसैले
तिम्रो बोक्रो
उसको गुदी,
तिम्रो छाला
उसको मासु
तिम्रो हड्डी
उसको मासी
तिम्रो श्वास
उसको सुवास
तिम्रो हेराइ
उसको बुझाइ
तिम्रा कुरा
उसका वाणी
तिम्रा कर्दा
उसको छुरा
यही यथार्थ बुझ
अन्यथा,
अनर्थ होला नि !
अन्याय गर्दा
अपमान गर्दा
अस्पष्ट बन्दा
अनर्थ होला नि !
त्यसैले ज्ञान बुझी ज्ञानी बन्नू ।
त्यसैले वास्तविकता बुझी ज्ञानी बन्नू ।
पुराण ल्हेगे गुरुङ्ग ’चिउरी खर्के’
सुनवल-४, नदुवा, नवलपरासी पश्चिम

