
पुजा लम्साल,सुनवल। सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर र मितव्ययी हुनुपर्ने बताउनुभएको छ। शाईन रेसुङ्गा डेभ्लपमेन्ट बैँक लिमिटेड शाखा कार्यालय सुनवलले सुनवलमा आयोजना गरेको एक दिने वित्तीय साक्षरता कक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले महिलाहरु सचेत भएन भने घर परिवारमा धेरै अस्तव्यस्थता देखिने हुदा विभिन्न विकृतिको अन्य गर्दै विशेष गरी महिलाहरु मितव्ययी हुनुपर्ने आवश्यक औल्याउनुभयो ।

सरकारको नीति अनुरुप विभिन्न ठाउ र कार्यालयहरु डिजिटराईज्ड भईसकेको हुनाले हामीहरु पनि प्रविधिमैत्री बन्नुपर्नेमा नगर प्रमुख अर्यालको जोड थियो । हरेक कुराहरु सिक्ने प्रयत्न गर्नुपर्ने उहाको भनाई थियो । आगामी दिनमा उत्पादनमुलक क्षेत्र,आत्मनिर्भरता र सिप विकास संग सम्बन्धित विभिन्न कार्यक्रमहरु नगरपालिकासंग समन्वय गरी सञ्चालन गर्न पनि नगर प्रमुख अर्यालले आग्रह गर्नुभयो ।

सुनवल ४ शुभमनगर स्थित कैलाशेश्वर शिवालय मन्दिरको सभाहलमा भएको कार्यक्रममा शुभलक्ष्मी आमा समुहमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

यस्तै बैँकले आजै सुनवल वडा नं ४ वडा कार्यालयको सभाहलमा पनि वित्तिय साक्षरता कक्षा सञ्चालन गरेको छ । वडाध्यक्ष वालकृष्ण पंगेनीको अध्यक्षतामा मिलिजुली आमा समुह र बुद्धनगर आमा समुहलाई वित्तिय साक्षरता कक्षा सञ्चालन गरेको हो ।

प्रविधिको प्रयोग मार्फत वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिने उदेश्यले वित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको वैँकका शाखा प्रमुख भवानी ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा वैँकका डिजिटल वैङ्किङ्ग अफीसर नारायण न्यौपानेले बैकसंग कसरी कारोबार गर्ने, बित्तिय साक्षरता भनेको के हो, यसको महत्व ,बचतको प्रकार तथा महत्व, कर्जाको प्रकार तथा त्यसको उपयोगीता, बचत गर्न उपयुक्त स्थान लगायतका वारेमा जानकारी गराउनुभएको थियो ।

पछिल्लो समय चिठ्ठा, उपहार लगायतका नाममा विभिन्न अनलाईन ठगिका घटनाबाट कसरी बच्न सकिन्छ र आफ्नो स-सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने जानकारी सहित सचेतना कक्षा सञ्चालन गरिएको कलस्टर हेड भागिरथ न्यौपानेले जानकारी दिनुभयो ।



