
सुनवल । राष्ट्रिय भुमि आयोग नवलपरासीले भुमिहिन सुकम्वासी र अव्यवस्थित वसोवासीहरुको जग्गा नापजाँच तथा पुर्जा वितरण कार्य अगाडि वढाएको छ । आयोगले जिल्लाका पालिकाहरु संगको समन्वयमा उक्त कार्य अगाडी वढाएको हो । सो क्रममा आज सुनवल वडा नं ५ मा भुमिहिनलाई जग्गा नापजाँचको निस्सा वितरण सुरु गरिएको छ ।


वडाध्यक्ष नेत्र प्रसाद तिवारीको अध्यक्षता तथा नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख अर्यालले नगरपालिका भवन परिसरमा कन्ट्रोल पोइन्ट राखिने र नगरका १३ वटै वडामा सव कन्ट्रोल पोइन्ट राखेर जग्गा नाप नक्साको काम अगाडी वढाईएको बताउनुभयो ।
उहाले निकट भविष्यमा प्राविधिक जनशक्ति पनि राखिने र नाप नक्साको कामलाई अगाडी वढाउने योजना रहेको बताउनुभयो । भुमि आयोगलाई आवश्यक पर्ने अन्य जस्तो सुकै सहयोग गर्न पनि नगरपालिका तयार रहेको नगरप्रमुख अर्यालले बताउनुभयो ।

राष्ट्रिय भुमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले जुनसुकै अवस्थामा पनि लालपुर्जा वितरण गर्ने र जेलै जान परे पनि पछाडी नहट्ने बताउनुभयो ।

राष्ट्रिय भुमि आयोग सदस्य भविश्वर तिवारीले प्रधानमन्त्री समक्ष राजश्व घटाउन पहल गरेको र प्रधानमन्त्रीले क्रान्तिकारी निणर्य गरेर भए पनि राजश्व घटाउने आश्वासन दिएको बताउनुभयो । भुमि आयोगद्धारा नापनक्सा गरी पुर्जा वितरणको सुरुवात गरिसकेको हुनाले अव छिटो भन्दा छिटो सवैलाई लालपुर्जा वितरण गरिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय भुमि आयोग सदस्य लक्ष्मी भुषाल, सुर्दशन खरवार, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



