
पुजा लम्साल,सुनवल । सुनवल नगर प्रमुख विमला अर्यालले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा जोड दिनुभएको छ । पत्रकार महासंघ नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा लोटस रिसोर्ट सुनवलमा आज देखी सुरु भएको नवलपरासीका पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले नगरमा महिला पत्रकारको संख्या न्यून रहेको भन्दै क्रियाशील महिला पत्रकारले आफ्नो क्षमता बढाउनु पर्ने बताउनु भयो।


वास्तविक कामको समाचार सम्प्रेषण गर्ने र राम्रा नराम्रा कामलाई सुझाव दिनु पर्ने भन्दै नगर प्रमुख अर्यालले समाज रूपान्तरणका लागि धेरै कुरालाई सहकार्य गर्दै जिम्मेवारीका साथ अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनुभएको छ ।

यसअघि नगरको कार्यसम्पादन मुल्यांकनमा ४२ अंक आएकोमा अहिले ७८ अंक ल्याउन सफल भएको पनि उहाले बताउनुभयो । नगर प्रमुख अर्यालले ५ हजार लिटर सम्मको खानेपानी निशुल्क, प्रत्येक वडा कार्यालयमा निशुल्क फोटोकपी, निवेदन लेखन सुरु, १८० जनाको मोतियाबिन्दुको अप्रेशन गरेको, सेफ हाउस निर्माण, महिलाबाट उत्पादन हुने वस्तुको संकलन तथा बजारीकरणका लागि सीप तथा व्यवस्थापन केन्द्र निर्माण भइरहेको, लुम्विनी माविमा १३८ जना महिला भर्ना भई अध्ययन गरिरहेको जस्ता नगरका विकास गतिविधि लगायतका वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा उपप्रमुख सुर्य प्रसाद दुबेले आफ्नो पेसा र कर्म प्रति मर्यादित बनाउने भन्ने कुरा आफूमा भर पर्ने भन्दै क्षणिक लोकप्रियताका लागि गरिएका कामले पेसालाई मर्यादित नबनाउने बताउनुभयो । पेशालाई मर्यादित बनाउन आफ्नो हरेक क्रियाकलाप जिम्मेवार हुनुपर्ने उहाको भनाई छ । नगरप्रमुख र उपप्रमुख दुवैको सहकार्य राम्रो रहेको बताउदै झुटा अफवाह नफैलाउन र सकारात्मक रूपमा बुझेर समाचार प्रकाशन गर्न पनि नगर उपप्रमुख दुवेको आग्रह थियो ।

कार्यक्रममा पूर्व केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, पूर्व सभापति केशव पराजुली, प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष मेघ राज गौतम, रेशम प्रसाद शर्मा, संचारिका नवलपरासी संयोजक विष्णु खनाल, इन्दिरा विश्वकर्मा लगायतले यस तालिमबाट केही उपलब्धि आउनुपर्ने भन्दै महिला पत्रकार अझ क्रियाशील रहनु पर्ने बताउनु भयो। दलीय भागमा महासंघको सदस्यता दिने प्रवृतिले गर्दा महिलाले सदस्यता पाउन मुश्किल भएको भन्दै यो समस्या समाधान हुनुपर्ने बताउनुभएको थियो ।

विभिन्न समस्याका बावजुत पनि आफ्नो कर्ममा अग्रसर रहने भएता पनि महिला पत्रकार व्यवसायीक हुन नसक्ने चुनौति रहेको भन्दै उनिहरुलाई व्यवसायीक वनाउन सहयोग पुग्ने गरी तालिम संचालन गरिएको पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले बताउनुभयो ।

आजबाट सुरु भएको तालिम आगामी जेठ १२ गतेसम्म सञ्चालन हुने छ । तालिमको आज पहिलो दिन कान्तिपुर मिडिया ग्रुप लुम्बिनी व्युरो प्रमुख सन्जु पौडेलले समाचार लेखनका आधारभुत विषयका वारेमा सहजीकरण गर्नुभएको थियो । तालिममा नवलपरासीका क्रियाशिल महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।



