५ कार्तिक २०८३, बुधबार

७०औँ मासिक साहित्यिक घुम्ती शृङ्खला सम्पन्न

भुमही, माघ १३
साहित्य परिषद्, नवलपरासीले ७० औँ मासिक साहित्यिक घुम्ती शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ । सुनवल १३ स्थित मोतीलाल बहुमुखी क्याम्पसको प्राङ्गणमा सुसम्पन्न उक्त कार्यक्रम परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा स्रष्टाहरूले आआफ्ना रचनामा देशमा व्याप्त बेथिति विसङ्गतिमा तीव्र प्रहार गरिएका, न्यायको खडेरी परेको, रोजगारीको अभावमा युवाहरू विदेश जानुपर्नाको पीडा, गाउँघरमा छोटे राजाहरूको बिगबिगी, जस्ता विषयवस्तुका रचना प्रस्तुत गर्दै न्याय एवम् समतामूलक समाजको स्थापनामा जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नवलपरासीका अध्यक्ष अर्जुन पाण्डेय, तिलक भट्टराई ‘अन्जान’ पुराण गुरुङ, विश्वजित गुप्ता, प्रदीप भट्टराई, तुल्सीराम पाण्डेय, केशव अधिकारी, मैना सुवेदी, दीर्घनाथ गौतम ‘बाँसुरीवीर’, कपिलदेव पङगेनी, वासुदेव पाण्डेयलगायत दर्जन बढी स्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा नेपाली एवं भोजपुरी भाषाका मुक्तक, गीत, गजल, हाइकु, कविता वाचन गरिएका थिए ।

स्रष्टा तुलसीरामले प्राचीनकाल र वर्तमानकालमा वनभोज खाने प्रचलनको भिन्नता औँल्याउँदै वनखाजा, पिकनिक, खलेखाजा, हिलेखाजा, बुहारीखाजा, सुत्केरीखाजा, कोलेखाजा, दवाईखाजा, सम्धीखाजाका भिन्नताबारे प्रष्ट पार्दै रमाइलो वातावरण प्रस्तुत गर्नुभएको थियो ।

भाषा, साहित्य, कला र संस्कृति हरेक जातजाति र भाषाभाषीको पहिचान र अस्तित्व भएकोले सबैले यसको समुन्नतिमा लाग्नुपर्छ भन्दै समाजमा चेतना विस्तार हुने र वेथितिको अन्त्यको लागि स्रष्टाले कलम चलाउनुपर्ने विचारका साथ अध्यक्ष न्यौपानेले कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको सञ्चालन परिषद्का उपाध्यक्ष भविश्वर पराजुलीले गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार