पौष २६ । अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । नेपाल राष्ट्र बैँकले आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न निर्देशन दिएको हो ।

यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिएको आधारमा पनि खाता खोल्न सकिने भएको हो ।
नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैङ्क तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा लगायत सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नुपर्ने निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्रलाई आधिकारिकता दिइएको हो तर अनिवार्य गरिएको भने होइन ।



