काठमाडौँ, काठमाडौँस्थित श्रीलङ्काली दूतावासले ‘सलोन चियामा उत्कृष्टताको १५९ वर्ष’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय चिया दिवस २०२६ भव्य रूपमा मनाएको छ। नेपालका लागि श्रीलङ्काली राजदूत रुवान्थी देल्पितियाको औपचारिक निवासमा २१ मे २०२६ मा आयोजित उक्त विशेष समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरू, चिया क्षेत्रका व्यवसायी तथा प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी देल्पितियाले सलोन चियाको ऐतिहासिक महत्त्व र नेपाल–श्रीलङ्का सम्बन्धबारे प्रकाश पार्नुभयो। उहाँले आफ्नो सम्बोधनका क्रममा भन्नुभयो, “सलोन चिया (Ceylon Tea) केवल एक पेय पदार्थ मात्र होइन, यो श्रीलङ्काको पहिचान, गुणस्तर र विश्वव्यापी विश्वसनीयताको प्रतीक हो। आज हामी यसको १५९ वर्ष लामो गौरवशाली यात्रा मनाइरहेका छौँ।”
अन्तर्राष्ट्रिय चिया दिवस २०२६ को विश्वव्यापी नारा ‘चियाको दिगोपन, समुदायको उत्थान’ लाई स्मरण गर्दै राजदूत देल्पितियाले थप्नुभयो, “श्रीलङ्का चिया उत्पादनमा दिगोपन, नैतिक अभ्यास र चिया बगानमा श्रम गर्ने समुदायको कल्याणका लागि पूर्ण रूपमा प्रतिबद्ध छ। नेपाल र श्रीलङ्काबीचको मैत्रीपूर्ण सम्बन्ध, आतिथ्यता र सांस्कृतिक सामीप्यतालाई चियाले थप बलियो बनाएको छ।”
यसै क्रममा दूतावासका कमर्सियल अफिसर विवेक वोस्तीले श्रीलङ्काको चिया उत्पादन, यसका क्षेत्रगत विशेषता र निर्यातको महत्त्वबारे एक कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्र प्रस्तुत गर्दै वोस्तीले भन्नुभयो, “श्रीलङ्काका सात फरक भौगोलिक क्षेत्रमा उत्पादित चियाको स्वाद, बास्ना र विशेषता अद्वितीय छन्। उच्च गुणस्तरको मापदण्ड र अर्गानिक उत्पादनका कारण नै सलोन चियाले विश्व बजारमा आफ्नो अलग्गै साख जोगाउन सफल भएको हो।”
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) को अन्तरसरकारी समूह (IGG) द्वारा जारी गरिएका आधिकारिक सामग्री तथा भिडियोहरू प्रदर्शन गरिएको थियो। सो अवसरमा आमन्त्रित अतिथिहरूलाई श्रीलङ्काका सातवटै क्षेत्रका रैथाने चियाका स्वादहरू चखाउनुका साथै विभिन्न चियाका ग्रेडहरू र जडीबुटीयुक्त चियाको प्रदर्शनी गरिएको थियो।
कार्यक्रमको अन्त्यमा आमन्त्रित पाहुनाहरूले श्रीलङ्काली रैथाने परिकारका साथमा चिया र चियाबाट बनेका विभिन्न ‘मकटेल’हरूको स्वाद लिँदै व्यावसायिक नेटवर्किङ गरेका थिए। विश्वप्रसिद्ध ब्रान्ड ‘दिल्मा’ (Dilmah) ले समेत आफ्ना विभिन्न विधाका उत्कृष्ट चिया उत्पादनहरू सो कार्यक्रममा प्रदर्शन गरेको दूतावासले जनाएको छ।



