नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय आयोजनामा सिमरा स्थित इच्छ होटलमा साउन १० गतेदेखि १२ गतेसम्म सम्पन्न ‘इक्यान लिडर्स मिट २.०’ मा इक्यान ललितपुर शाखालाई ‘इनोभेटिभ ब्राञ्च अफ दि इयर २०२५’ अवार्ड प्रदान गरिएको छ।

शैक्षिक परामर्श क्षेत्रमा ल्याएको नविनतम सोच, प्रविधि प्रयोग, प्रभावकारी कार्यक्रम र विद्यार्थीमुखी अभियानको मूल्याङ्कन गर्दै इक्यान ललितपुरलाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड कार्यक्रम प्रतिनिधि सभा सदस्य एवम् रास्वपा नेता मनिष झाले इक्यान ललितपुरका अध्यक्षलाई एक विशेष समारोहका बीच हस्तान्तरण गरेका थिए।
कार्यक्रमको अध्यक्षता इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले गरेका थिए भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख सेमन्तराज कोइराला प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा इक्यानका पूर्व अध्यक्षहरू प्रकाश पाण्डे, विष्णुहरि पाण्डे, दिपक गुरुङ, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यान निर्वतमान पदाधिकारीहरू, र विभिन्न शाखाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।

तीन दिनसम्म चलेको लिडर्स मिटमा देशभरका ८ इक्यान शाखाका प्रतिनिधिहरु सहभागी थिए। कार्यशालामा शैक्षिक परामर्श क्षेत्रको एकता, सुदृढीकरण र रुपान्तरण सम्बन्धी विषयमा गहन छलफल र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाले स्वागत मन्तव्य दिएका थिए भने समग्र कार्यक्रमको सञ्चालन इक्यान केन्द्रिय सचिव भवनाथ हुमागाईंले गरेका थिए।
कार्यक्रमका विशेष आकर्षणमध्ये सांसद मनिष झाको ‘कि-नोट स्पीच’ थियो जसमा उहाँले शैक्षिक परामर्श व्यवसायमा पारदर्शिता, विद्यार्थी हित र नवीन दृष्टिकोणको आवश्यकतामाथि जोड दिनुभएको थियो।


