हात्ती पढेर ठूलो भएको होइन ।
कमिला नपढेर सानो भएको होइन ।
बंगुराले धेरै खाएर मोटाएको होइन ।
मच्चराले खान नपाएर दुब्लाएको होइन ।
वास्तवमा,
तिमी सामान्य किसान न हौ ।
तिमी एउटा सामान्य हाली हौ।
तिमी केवल सामान्य गोठालो हौ।
तिमी मात्रै खेताला हौ ।
त्यसैले,
तिमी धेरै चुरीफुरी नगर
किनकि यस्ता थुप्रै ज्यामी आए गए ।
तिमी धेरै अनुभवी नबन
किनकि ज्यामी संधै ज्यामी नै रहे ।
हो,
तिमीले निकै राम्ररी खान्छौ।
तिमीले सियो मिलाएर जित्छौ ।
तिमीले मिलाएर हिल्याउँछौ।
तिमीले गोडमेल पाको गरी गर्छौ।
तर,
आठै घण्टा मात्रै त गर्छौ !
तिमी एकै जना त हौ नि!
तिम्रो पेट उत्रै त छ नि !
तिम्रो ज्यान पनि उत्रै त छ नि!
त्यसैले,
तिमीले धेरै अर्नी नखोज,
तिमीले माजुरा धेरै नखोज ,
तिमीले मोही धेरै नखोज,
तिमीले जडौरी पनि नखोज ।
फरक,
तिमीले छिटो गर्छौ,
कसले पो लगाएको छ र ?
तिम्रै खुशीले गर्छौं,
कसले पो लदाएको छ र ?
यथार्थतामा,
मेरो खेत, बारी सबै नम्बरी
अनि अलि अलि पर्ती छ ।
मैले के रोपाउँ, के उब्जाउँ
सबै मेरै मन मर्जी छ ।
अझै तिमीले त,
मैले अह्राएको काम गर्ने हो ।
मैले चाहेको फलाउने हो ।
मेरा पित्रीले चाहेअनुसार गर्ने हो ।
मेरा स्त्रीले रोजेअनुसार गर्ने हो ।
त्यसैले,
मलाई ननसिकाउ खेतीको बारेमा।
मलाई अर्ती नदेऊ खेती लगाउने तरिकाको बारेमा ।
मैले चाहेमा तिमीलाई खेताला बनाउन सक्छु ।
मैले नचाहेमा अनि ट्याउँ-ट्याउँ गरेमा फर्काउन सक्छु ।
बुझ्ने प्रयास गर,
यो खेतको मालिक म हुँ ।
सर्वेसर्व म आफैं हुँ।
म बसेर खाएको,
टुमुक्क मोटाएको,
ठस्केर बोलेको,
ठाँटिएर हिँडेको,
डाह नगर,
आँखा नतार,
दाह्रा नकिट,
धारे हात नलगा,
गाईगुँई नगर,
मेरो आदेश मान्।
किनकि म यो खेतको मालिक हुँ।
सर्वेसर्व मा आफैं हुँ।
म बाजेको नाती हुँ।
म बाउको छोरा हुँ।
यो खेतको मालिक हुँ ।
यो खेतको मालिक हुँ ।

पुराण ल्हेगे गुरुङ चिउरी खर्के
सुनवल-३, नदुवा, नवलपरासी



