
पश्चिम नवलपरासी ।नेपालको तराई मधेसका जिल्लाहरुमा कुष्ठरोग अवस्था भयावह देखिएको छ । चालु आव पछिल्लो ६ महिनाको अवधिमा जिल्लामा ३० जना नँया कुष्ठरोगी थपिए संगै पश्चिम नवलपरासीमा कुष्ठरोगको संख्या भयावह देखिएको हो । ७० औ विश्व कुष्ठरोग विरुद्धको दिवसको अवसरमा आईतवार परासीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले यस वर्ष श्रावण देखी पौष सम्मको अवधिमा जिल्लामा सो संख्यामा कुष्ठरोगीका बिरामी भेटिएको जानकारी दिए । प्रमुख पन्थीका अनुसार जिल्लामा आव २०७७÷०७८ मा ५२ जना , २०७८÷०७९मा ७७ जना कुष्ठरोगी बिरामी रहेका छन् ।


स्वास्थ्य कार्यालयका तथ्यांड्क अधिकृत बजरंगी प्रसाद चौधरीले नेपालमा दोश्रो र लुम्बिनी प्रदेशमा नवलपरासी जिल्ला पहिलो कुष्ठरोग प्रभावित जिल्ला भएको जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशमा ५८१ वटा कुष्ठरोगीका बिरामी रहेका छन् ।कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ ।स्वास्थ्य कार्यालय नवलपरासीले कुष्ठरोगी पहिचानको लागि जिल्लामा खोजपडताल कार्यक्रम संचालन र कुष्ठरोगीलाई हेरचार परामर्श दिने कार्य गदै आएको स्वास्थ्य कार्यलायका बरिष्ठमलेरिया ईपेस्टर देबिलाल पौडेलले बताए ।

हालै मात्र प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका विश्वप्रकास अर्याल तथा जिल्ला समन्वय समिति प्रमुख भगौति प्रसाद यादवले जिल्लामा देखिएको कुष्ठरोगको यो अवस्थालाई न्यूनीकरण गर्न राज्यका निकायहरु अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।



