३ कार्तिक २०८३, सोमवार

कुल देवता !


कुल देवता !
उठ्ने बित्तिकै सम्झिने कुल देवता
सबैभन्दा पहिला पुजिने कुल देवता
सदा मेरो रक्षाक बनून् भनी
जल चढाई धुपले पुज्ने कुल देवता

साँच्चै रक्षा गर्छन् भन्छन् गाउँलेहरु
पुज्नै पर्छ है भन्छन् गाउँलेहरु
अप्ठ्यारोमा जोगाउलान् नि भनी
नबिर्सनु कहिल्यै भन्छन् गाउँलेहरु

थानमा बस्छन् मान खोज्दै
चोखो, ताजा र तर खोज्दै
चढाउने गर्छु सँधै मैले
पक्कै रक्षा गर्लान् नि भन्दै

सानैदेखि यसैमा बानी पारे
जल, फुल धुप चढाने बानी पारे
घरबाहिर हुँदा चढाउन नपाउँदा
मनमा खसखस लाग्ने बानी पारे

रक्षाको अपेक्षा धेरै पो गरेछु कि
सहयोगको आशा धेरै पो गरेछु कि
काम अधुरो रहँदाको बेलामा
देवताको भरोसा धेरै पो गरेछु कि

चढाउने फुल पनि पाइन छोड्यो
रोपेको फुल सबै मौलाउन छोड्यो
जतासुकै खोजिसकें मैले फुल
फुल नजिक कतै भेटिन छोड्यो ।

संधै देवताको सेवा गर्न भ्याइन मैले
खेतीपातीले सेवा गर्न भ्याइन मैले
खल्लो लाग्छ नित्यकर्म अधुरो हुँदा
वस्तुले गर्दा सेवा गर्न भ्याइन मैले

त्यसैले देवता रिसाए जस्तो लाग्छ
रक्षाको मात्रा घटाए जस्तो लाग्छ
मेरो ख्याल पनि देवताले अचेल
अलि कम गरे जस्तो लाग्छ

अलि फुल ओइलाउँदै जाँदा
फुलबिनै जल चढाउँदै जाँदा
मेरो रेखदेख पनि कमी होला
देवताले सेवा कमी ठान्दै जाँदा

कोर्केर हेर्लान् तर्केर जालान्
फर्केर तर्लान् झर्केर बोल्लान्
खिसीट्युरी गरेर उनले मलाई
दोष लाउँदै मलाई धारे हात लाउलान्

नमन गर्ने हातले छेक्नु पो पर्ला
हात व्यस्तै हुँदा कसरी पो गर्ला
हातै जोड्न मैले नपाएपछि
आशिषको सट्टा श्राप पो पर्ला ।

श्राप लागेपछि औंलाहरु झर्लान्
मासु सबै सुकी चाउरी पो पर्लान्
अब हड्डी मात्रै रहेपछि मेरा
सेवाभव पनि वैरीभवमा सर्लान्

भक्तिको शक्ति अब हतियार बन्नेछ
प्रज्वलित दिपले प्रतिमा खरानी बन्नेछ
पाखण्डी देवता र भक्तिको लडाइँले
मन्दिर, चर्च, गुम्बा र मस्जिद समेत रणभूमि बन्नेछ ।

पुराण ल्हेगे गुरुङ
सुनवल-३, नदुवा, नवलपरासी पश्चिम

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार