उभिएर त हेर,
कति सुन्दर छ स्वर्ग !
अलि पर पुगेर हेर,
कति गज्जब छ संसार !
ओल्लो पल्लो गाउँलाई नियालेर हेर,
कति मनमोहक छ दृश्य !
मिज्युसँग भलाकुसरी गर,
कति फराकिलो छ सोंच !

तिमी
अझै सक्रिय बन,
नयाँ प्रक्रिया सिक,
फरक तरिका सोंच,
मजबुत उपाय रच,
अझै मनमोहक दृश्य देख्नेछौ ।
धेरै नवीन वृक्ष भेट्नेछौ ।
बेसी रचनामा रम्नेछौ ।
थुप्रै उपाय पाउनेछौ ।
अब तिमी पनि कम्तीमा
अरु जत्तिकै बन्नेछौ ।
अरुले जत्तिकै सुन्नेछौ ।
अरुले जत्तिकै सिक्नेछौ ।
अरुले जत्तिकै अनुभुति गर्नेछौ ।
अब तिमीलाई
बढी आनन्द आउनेछ,
बढी उर्जा थपिनेछ
बढी क्रियाशीलता बढ्नेछ,
बढी तरिकाहरु थाहा हुनेछ ।
त्यसपछि तिमीलाई,
सबैले वाह! वाह! गर्नेछन् ।
तिम्रै चर्चा परिचर्चा हुनेछ ।
जहाँ पनि तिमीलाई नै सिफारिस गर्नेछन् ।
तिम्रै उच्च विचारको सम्मान हुनेछ ।
अझै तिमीलाई जोश, जाँगर, उमंग
बढेर हुनेछौ, पर्नेछौ बिपत्तै दङ्ग ।
अझै तिमिलाई कला, सीप र ज्ञानसंग
अहो अब हुनेछौ झनै सिरिङ्ग।
अनि फलतः
शास्त्रीय अर्थशास्त्रीको नीतिमा झैं,
प्रथमतः स्वतन्त्रता पाउनेछौ,
उल्काविधि जाँगरले
असीमित शीर, छाती, पाखुरा अनि पैतला चलाउनेछौ,
मुलुकै प्रगति गर्नेछौ ।
दोश्रो तहमा, नाफाले प्रेरणा थपी,
झनै सक्रियता बढ्नेछ,
सर्प्लस भ्यालु पनि पाउनेछौ,
झनै उत्पादन बढ्नेछ
झनै प्रभावशाली हुनेछौ ।
तेश्रो स्तरमा, तिमीले सीमान्त आय र नाफलाई
पुनः लगानी गरी,
पूँजी सन्चय हुनगई,
ओहोरै आम्दानी बढाउनेछौ ।
ज्याद्रै जो धनी बन्नेछौ ।
चौथो तहमा भने, स्थिरता आउनेछ
किनकि साह्रा श्रोत साधनहरुको
पूणर् क्षमताको सदुपयोग भई सक्नेछ ।
सम्पूणर् लगानीको क्षेत्र भरिनेछ ।
अन्तिम पाँचौं अवस्थामा,
तिमीलाई दशा ग्रहले घेर्नेछ ।
सीमान्त उत्पादकत्व ह्रास नियम लागू हुनेछ ।
तिमी गिर्दै जानेछौ
स्वीकार तिमी डुब्नेछौ
यद्यपि तिम्रो सिद्धान्त अजर अमर रहनेछ ।
त्यसैले,
तिमी गिर्नेछौ यद्यपि तिमी अलि पर गएर हेर
तिम्रो सह्राना गरेको पाउने छौ ।
तिम्रै सिको गरी अरुले पनि प्रगति गर्नेछन्
अलि माथि चढेर हेर ।
अनि तिमीले साँच्चिकै
अद्भुत, अलौकिक, मैलिक, रचना, श्रीजना,
दार्शनिक सोंच अनि बैज्ञानिक संरचना
सिर्जित, निर्मित अनि विकसित भएको पाउनेछौ ।
त्यसैले उभिएर त हेर,
एक कदम अघि गएर हेर,
ओल्लो पल्लो गाउँमा गएर हेर,
मिज्युसंग गएर भलाकुसरी गर,
तिमी विपत्तै ज्ञानी, भद्र र शालीन
बुद्ध, ब्रम्हा, यशु, मोहम्मद आदि बन्नेछौ ।
त्यसपछि, सबैले तिमीले अहिले नै हतारमै सोंचे जस्तै
सबैले आदार, कदर, समान, अनुसरण गर्नेछन् ।
तिमीले आत्तिएर सोंछे जस्तै
खुरुखुरु मान्नेछन्,
माल्यार्पण गर्नेछन्,
गर्ल्याम्मै अंगालो हाल्नेछन्,
गालामा च्वाप म्वाई खानेछन्
हर्षका आँशुका बर्षा हुनेछ ।
त्यसैले मेरो सुझव,
ए हैन, हैन,
मेरो अनुरोध,
उभिएर त हेर ।
तिमी संसारकै राजा, बाबजी, पिता,
दार्शनिक, भगवान बन्नेछौ ।
साँच्चिकै संसारकै राजा, बाबजी, पिता,
दार्शनिक, भगवान बन्नेछौ ।
पुराण ल्हेगे गुरुङ ’चिउरी खर्के’
सुनवल-३, नदुवा, नवलपरासी



