
काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभागले सहकारीहरुको केन्द्रिय संघ सहकारी महासंघको साधारण सभा तथा अधिवेशनमा ध्यान केन्द्रित गर्दै ७७ वटै जिल्ला सभापतिलाई परिपत्र गरेको छ ।

पूर्व गृह राज्य मन्त्री समेत रहेका विभागका प्रमुख देवेन्द्रराज कण्डेलले एक परिपत्र गर्दै महाधिवेशनको प्रतिनिधिहरु जिल्ला स्तरीय सहकारी संघहरुबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले पुस २७ र २८ गते हुन लागेको सहकारी महासंघको साधारण सभा तथा अधिवेशनका ७७ वटै जिल्लासँग विवरण माग गरेका हुन् । ‘यहाँहरुको जिल्लाबाट कतिवटा संघबाट कतिजना प्रतिनिधि हुनुहुन्छ रु, त्यसमध्ये लोकतन्त्रवादी साथीहरु कति हुनुहुन्छ सो को विवरण पठाईदिन अनुरोध छ ।
हरेक संघबाट हाम्रा साथीहरुलाई प्रतिनिधि पठाउन आवश्यक पहल समन्वयन गरिदिनुहुन समेत अनुरोध गर्दछु ’ परिपत्रमा भनिएको छ । विवरण पौष २३ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन समेत अनुरोध गरिएको छ । यसअघि गत पौष ७ र ८ गते सम्पन्न नेफ्स्कुनको अधिवेशनमा गठबन्धनमा ६ जना निर्वाचित गराउन सफल भएको पनि विभागले जनाएको छ ।
यस्तै राष्ट्रिय सहकारी महासंघको आसन्न साधारण सभा तथा महाधिवेशनका सन्दर्भमा नेपाली काग्रेस केन्द्रिय सहकारी विभागको तर्फबाट आवश्यक परामर्श तथा समन्वय गरी महाधिवेशनलाई लोकतन्त्रवादी साथीहरुको पक्षमा नेतृत्व ल्याउन अध्ययन, व्यवस्थापन तथा समन्वय सहितका कार्य सम्पादन गरी विस्तृत जानकारी तथा प्रतिवेदन यही पौष २३ गते सम्म पेश गर्ने गरी भानुभक्त ढकाल संयोजक रहने गरी विभिन्न व्यक्तित्वहरु सम्मिलित केन्द्रिय निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन समेत गरिएको छ ।



